वानीरा फाउन्डेसनको परिचय
‘श्रीस्वस्थानी व्रतकथा’मा भगवान् शङ्करले आफ्नी पत्नीउपरको प्रेममा डुबेर पार्वतीको लासलाई एक महिनासम्म बोकेर जगत् परिक्रमा गरेका थिए । आफ्नी पत्नीको निधन भएपछि उनले आफुलाई समेत भुलेका थिए । यस्तो किसिमकोे कथा पढ्नेहरूका लागि वानीरा फाउन्डेसन नयाँ कुरा मानिँदैन । तर नेपाली परिवेशमा शङकर गिरिले आफ्नी पार्वतीका लागि जसरी मन रोपे, धन रोपे र तन पनि रोपे; यो बेहोराचाहिँ उदाहरणीय बन्यो । वास्तवमा उनले आफ्नी सद्दे, स्वस्थ्य वा तन्दुरुस्त पत्नीका लागि आफ्नो गच्छे अर्पण गरेका थिएनन् । उनले त अल्जाइमर भएकी, डिप्रेसनले ग्रस्त भएकी र शारीरिक रूपमा झन्नै निर्जीव अवस्थामा रहेकी आफ्नी पत्नीको सम्मान, प्रेम र समर्पणमा ‘वानीरा फाउन्डेसन’को स्थापना गरे ।
शङ्कर गिरिको आफ्नी पत्नीउपरको यस कार्यलाई शाहजहाँले आफ्नी प्रेमिका मुमताजका लागि बनाएको ताजमहलसँग पनि तुलना गरे हुन्छ । त्यसैले वानीरा फाउन्डेसनलाई नेपाली परिवेशमा शङ्कर गिरिनिर्मित साहित्यको ताजमहल हो भने पनि हुन्छ ।